DC

Daily Celebrity

सबै खबर सबैका लागि • नेपालको विश्वसनीय पोर्टल

Batulo Jun Box Office Collection Day 4

नेपाली बक्स अफिसमा ‘बाटुलो जुन’को दबदबा, चौथो दिनमै ६ करोड छुने अनुमान! ‘पेन्सन पट्टा’ र ‘बा एक योद्धा’को कमाइ कति?
नेपाली चलचित्रको बक्स अफिसमा अहिले तीन चलचित्रबीच रोचक प्रतिस्पर्धा देखिएको छ। चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको ६६औँ दिनमा प्रवेश गरेको छ भने ‘बा एक योद्धा’ ५२औँ दिनमा पुगेको छ। त्यस्तै, नयाँ चलचित्र ‘बाटुलो जुन’ प्रदर्शनको चौथो दिनमा आइपुगेको छ।
यी तीन चलचित्रमध्ये अहिले सबैभन्दा बढी चर्चा ‘बाटुलो जुन’को भइरहेको छ। अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहेको यस चलचित्रले प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ।

 

‘पेन्सन पट्टा’को कमाइ १० करोड ३५ लाखभन्दा माथि

 

माउत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ले बक्स अफिसमा राम्रो सफलता हासिल गरेको छ।

 

ड्रामा विधामा निर्माण भएको यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारहरूको अभिनय रहेको छ।
माउत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङको लगानी रहेको छ।

 

प्रदर्शनको सुरुवाती समयमा देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनमा राम्रो शो पाएको यस चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।

 

उपलब्ध बक्स अफिस विवरणअनुसार प्रदर्शनको ६५औँ दिनसम्म चलचित्रले १० करोड ३५ लाख २५ हजार रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
आज ६६औँ दिनमा चलचित्रले जम्मा दुईवटा शो प्राप्त गरेको छ। उपलब्ध एडभान्स बुकिङ र अकुपेन्सीलाई आधार मान्दा आज करिब २५ हजार रुपैयाँ हाराहारीको व्यापार गर्ने अनुमान गरिएको छ।

 

करिब २ करोड रुपैयाँ लगानीमा निर्माण भएको यस चलचित्रले १० करोडभन्दा बढी कमाइ गर्दै ब्लकबस्टर सफलता हासिल गरेको छ।

 

‘बा एक योद्धा’को कमाइ ३ करोड ५६ लाखभन्दा माथि

 

अब कुरा गरौँ चलचित्र ‘बा एक योद्धा’को।

 

हरि अंशालको लेखन तथा निर्देशनमा तयार भएको यस पारिवारिक ड्रामा चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सागर खनाल, सुहाना थापालगायत कलाकारहरूको अभिनय रहेको छ।

 

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा वसन्त लम्सालको लगानी रहेको छ।
कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको यस चलचित्रले प्रदर्शनको सुरुवाती समयमा देशभरका मल्टिप्लेक्समा राम्रो शो पाएको थियो।

 

चलचित्र आज प्रदर्शनको ५२औँ दिनमा प्रवेश गरेको छ। उपलब्ध विवरणअनुसार प्रदर्शनको ५१औँ दिनसम्म चलचित्रले ३ करोड ५६ लाख ७० हजार ९०० रुपैयाँ कमाइ गरेको थियो।
आज चलचित्रले एउटा मात्र शो प्राप्त गरेको छ। उक्त शोबाट करिब २ हजार रुपैयाँ हाराहारीको व्यापार हुने अनुमान गरिएको छ।

 

करिब २ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको यस चलचित्रले अपेक्षाअनुसारको व्यापार गर्न नसके पनि बक्स अफिसमा औसत प्रदर्शन गरेको देखिन्छ।

 

‘बाटुलो जुन’को बक्स अफिसमा आक्रामक व्यापार

 

अब सबैभन्दा धेरै चर्चा भइरहेको चलचित्र ‘बाटुलो जुन’को कुरा गरौँ।

 

भुवन केसीको निर्देशनमा तयार भएको यस लभस्टोरी ड्रामा चलचित्रको कथा सामीप्यराज तिमल्सिना, सरिन पोखरेल र काजल केसीले लेखेका हुन्।
चलचित्रमा भुवन केसी, अनमोल केसी, प्रिन्सी खतिवडा, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरी, दीपक केसी र रियर राईलगायत कलाकारहरूको अभिनय रहेको छ।

 

सनरेच पिक्चर्स र भविष्य फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा जिया केसी र भविष्य खड्का निर्माता रहेका छन् भने विवेक थापा सहनिर्माता रहेका छन्।

 

रिच इन्टरटेनमेन्ट र श्रीराम बालाजी फिल्म्सले वितरण गरेको यस चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको थियो।
सुरुवाती दिनमा देशभरका मल्टिप्लेक्समा ठूलो संख्यामा शो प्राप्त गरेको चलचित्रले दर्शकको चाप बढेसँगै थप शोसमेत पाएको थियो।

 

प्रदर्शनको तेस्रो दिनसम्म चलचित्रले साढे चार करोड रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण पक्षबाट जानकारी प्राप्त भएको छ। यद्यपि, पाँच करोडको आँकडा भने पार गरिनसकेको बताइएको छ।

 

यसरी हेर्दा चलचित्रको तीन दिनको कुल कमाइ करिब पौने पाँच करोड रुपैयाँ हाराहारी पुगेको अनुमान गरिएको छ।

 

चौथो दिनमा पनि ‘बाटुलो जुन’को अकुपेन्सी राम्रो

 

आज आइतबार पनि चलचित्रले देशभरका मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ।

 

विशेषगरी काठमाडौं उपत्यकाका एफक्युब, बिग मुभिज, क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, गुण सिनेमा, रञ्जना सिनेप्लेक्सलगायत हलहरूमा चलचित्रको टिकट बुकिङ राम्रो देखिएको छ।
त्यस्तै, उपत्यकाबाहिरका विभिन्न हलहरूमा पनि चलचित्रले राम्रो अकुपेन्सी कायम गरेको छ।

 

केही हलका शोहरू हाउसफुल भएका छन् भने कतिपय शो फास्ट फिलिङ अवस्थामा रहेका छन्।

 

यद्यपि, शनिबारको तुलनामा आइतबार दर्शकको चाप केही कम देखिएको छ। तर पनि चलचित्रले चौथो दिनमा राम्रो व्यापार गरिरहेको छ।

 

उपलब्ध शो, एडभान्स बुकिङ र अकुपेन्सीलाई आधार मान्दा ‘बाटुलो जुन’ले आज एक करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सक्ने अनुमान गरिएको छ।

 

आज चलचित्रले करिब १ करोडदेखि १ करोड २५ लाख रुपैयाँसम्मको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ।

 

यदि यो अनुमान सही साबित भयो भने चलचित्रले प्रदर्शनको चौथो दिनमै ६ करोड रुपैयाँको आँकडा पार गर्न सक्नेछ।

 

समग्रमा हेर्दा नेपाली बक्स अफिसमा ‘पेन्सन पट्टा’ले लामो समयसम्म राम्रो व्यापार गर्दै ब्लकबस्टर सफलता हासिल गरेको छ। ‘बा एक योद्धा’ले औसत व्यापार गरेको छ भने ‘बाटुलो जुन’ले सुरुवाती दिनमै आक्रामक व्यापार गरिरहेको छ।

 

अब आगामी दिनमा ‘बाटुलो जुन’ले आफ्नो कमाइलाई कति माथि पुर्‍याउन सक्छ भन्ने कुरा निकै चासोको विषय बनेको छ।
तपाईंले यी तीन चलचित्रमध्ये कुन चलचित्र हेर्नुभएको छ? तपाईंलाई कुन चलचित्र सबैभन्दा राम्रो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला।
लिंक सफलतापूर्वक कपी भयो!