बक्स अफिसमा यसपटक बहुचर्चित फिल्महरूको भिडन्तसँगै रोचक प्रतिस्पर्धा देखिएको छ। विश्वव्यापी रूपमा प्रदर्शनमा आएको भारतको बहुप्रतिक्षित चलचित्र ‘रामायणा: द राइज अफ लेजेन्ड’ देखि नेपाली फिल्महरू ‘आमा बाबु’, ‘छक्का पञ्जा २’ (छ माया छपक्कै २), ‘कबड्डी ५’, र नयाँ रिलिज ‘पाँच पाण्डव’ सम्मको बक्स अफिस कलेक्सन र अवस्थाबारे यहाँ विस्तृत जानकारी प्रस्तुत गरिएको छ।
१
. आमा बाबु (२)
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन र रोशन भट्टको लेखन रहेको यो फेमिली ड्रामा फिल्ममा पल शाह, विपिन थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, साइग्रेश पोखरेल, मलिका महत लगायतका कलाकारहरूको अभिनय रहेको छ।
शो संख्या: पहिलो दिन १८० भन्दा बढी शो पाएको यो फिल्मले २२औँ दिनमा आइपुग्दा देशभर जम्मा २९ वटा शो मात्र पाएको छ।
कमाई (कलेक्सन): दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मले २१औँ दिनसम्म आइपुग्दा झन्डै ६ करोड ६६ लाख माथिको व्यापार गरिसकेको छ। २२औँ दिनमा फिल्मले ३ देखि ४ लाख हाराहारीको व्यापार गर्ने अनुमान गरिएको छ।
बजेट तथा स्थिति: करिब १ करोड ८० लाखको लगानीमा बनेको यो फिल्म बक्स अफिसमा सुपरहिट भइसकेको छ।
२
छ माया छपक्कै २ (छक्का पञ्जा २)
दिपेन्द्र लामाको निर्देशन, दिपक राज गिरी र दिपेन्द्र लामाको कथा तथा दिपक राज गिरीकै पटकथा तथा संवाद रहेको यो कमेडियन सोसल ड्रामामा दीपक राज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, सनिशा भट्टराई लगायतको अभिनय रहेको छ।
शो संख्या: फुलपातीको अवसर पारेर १४५ भन्दा बढी शोबाट प्रदर्शन सुरु गरेको यस फिल्मले २१औँ दिनमा आइपुग्दा जम्मा ३ वटा शो (सुभकामना सिनेमाज, आफ्नै हल र गुण सिनेमाज) मा सीमित भएको छ।
कमाई (कलेक्सन): २०औँ दिनसम्म फिल्मले ३ करोड ३८ लाख ४५ हजार को व्यापार गरेको थियो भने आज ७ देखि १० हजार हाराहारीको व्यापार गर्ने प्रक्षेपण गरिएको छ।
बजेट तथा स्थिति: करिब ३ करोड लगानी रहेको यो फिल्म हिट हुन साढे ७ देखि ८ करोड कमाउनुपर्नेमा सो अनुसार व्यापार गर्न नसक्दा बक्स अफिसमा फ्लप साबित भएको छ।
३.
कबड्डी ५ (आफ्टर द फाइनल म्याच)
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको यस कमेडी ड्रामामा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
शो संख्या: २२४ भन्दा बढी शोबाट प्रदर्शनमा आएको यो फिल्मले १५औँ दिनमा आइपुग्दा ७५ वटा शो प्राप्त गरेको छ।
कमाई (कलेक्सन): १४ दिन (दुई साता) मा फिल्मले १२ करोड ३ लाख हाराहारीको व्यापार गरेको छ। १५औँ दिनमा शो र अकुपेन्सी घटे पनि फिल्मले ८ देखि १० लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको छ।
बजेट तथा स्थिति: ३ करोडभन्दा बढीको लगानीमा तयार भएको यो फिल्म बक्स अफिसमा सुपरहिट भइसकेको छ।
४.
रामायणा: द राइज अफ लेजेन्ड (भारत)
नितेश तिवारीको निर्देशन र रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्म भारतभर ९ हजारभन्दा बढी र नेपालमा ३४४ भन्दा बढी शोमा एकसाथ रिलिज भएको थियो।
नेपाल बक्स अफिस: नेपालमा प्राविधिक कारणले केही हलमा रिलिज नभए पनि पहिलो दिन नै ५० हजारभन्दा बढी टिकट बिक्री गर्दै करिब २ करोडको ओपनिङ गरेको थियो। दोस्रो दिन पनि फिल्मको अकुपेन्सी बम्पर देखिएको छ र सुरुवाती दुई दिनमै नेपालमा साढे ३ करोडको आँकडा पार गर्ने देखिएको छ।
विश्वव्यापी (World Wide) कलेक्सन: पहिलो दिन भारतमा सबै भाषाबाट नेट कलेक्सन ६४ करोड ८५ लाख भारु (ग्रस ७७ करोड ५० लाख) गरेको छ। ओभरसिजबाट ५० करोड ग्रस गरेसँगै पहिलो दिनको विश्वव्यापी ग्रस कलेक्सन १२७ करोड ५० लाख भारु पुगेको छ। दोस्रो दिनको अर्ली इस्टिमेट अनुसार फिल्मले दुई दिनमा विश्वव्यापी रूपमा २१४ करोड ९३ लाख भारु को ग्रस कलेक्सन गर्ने देखिएको छ।
५.
पाँच पाण्डव (नयाँ रिलिज)
वसन्त निरौलाको निर्देशन र सुशिल पौडेलको लेखन रहेको यस कमेडी ड्रामा फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशिल सिटौला, दीपाश्री निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
शो संख्या: धनतेरसको अवसर पारेर आजबाट प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्सहरूमा ९५ वटा शो प्राप्त गरेको छ।
कमाई (कलेक्सन): प्रदर्शन अगाडि केही विवादमा आए पनि सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यस फिल्मले केही हलमा हाउसफुलको स्थिति देखाएको छ। प्रारम्भिक अनुमान अनुसार फिल्मले आज पहिलो दिन १५ देखि २० लाखको ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको छ।