चलचित्रले प्रदर्शनको पहिलो दिन बिहान ११ बजेर २० मिनेटसम्ममा सञ्चालन भइसकेका शोबाट ३० लाख ९४ हजार ९९५ रुपैयाँको बक्स अफिस कलेक्सन गरेको विवरण सार्वजनिक भएको छ। त्यस्तै, सञ्चालन हुन बाँकी शोहरूको अग्रिम टिकट बुकिङसमेत जोड्दा चलचित्रको कुल व्यापार ६२ लाख रुपैयाँभन्दा माथि पुगेको बताइएको छ। पहिलो दिनमै १ करोडको व्यापार गर्ने अनुमान
चलचित्रले बिहानैदेखि दर्शकको राम्रो साथ पाएको छ। विशेषगरी दिउँसो २ बजेपछि र साँझका शोहरूमा दर्शकको आकर्षण बढेको देखिएको छ। विभिन्न हलहरूमा टिकट बुकिङ तीव्र भएपछि चलचित्रका शोसमेत थपिँदै गएको बताइएको छ।
प्रारम्भमा देशभरका मल्टिप्लेक्समा १८९ शोसहित प्रदर्शनमा आएको चलचित्रले सिंगल स्क्रिनका शोसमेत जोड्दा थप शो प्राप्त गरेको थियो। वितरण कम्पनी रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठ ‘क्रेजी’का अनुसार दर्शकको माग बढेसँगै चलचित्रका शोहरू थपिँदै गएका छन्। चलचित्रले पहिलो दिन २६० भन्दा बढी शो प्राप्त गर्ने सम्भावना रहेको बताइएको छ।
चलचित्रले प्राप्त गरेको दर्शकको साथ र अग्रिम टिकट बुकिङको अवस्थालाई हेर्दा पहिलो दिनमै करिब १ करोड रुपैयाँ आसपासको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि, अन्तिम बक्स अफिस कलेक्सन भने दिनभरिका शो सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ। के छ चलचित्र ‘बाटुलो जुन’ मा?
प्रेमकथामा आधारित ड्रामा जनरामा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’ लाई भुवन केसीले निर्देशन गरेका हुन्। चलचित्रको कथा सामीप्यराज तिमल्सिना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र सरिन पोखरेलले लेखेका छन्।
चलचित्रमा अनमोल केसीसँगै भुवन केसी, प्रिन्सी खतिवडा, गरिमा शर्मा, नन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरी, दीपक केसी र रियर राईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा भविष्य खड्का फिल्म्सको पनि संलग्नता रहेको छ। चलचित्रमा जीआई केसी र भविष्य खड्काको लगानी रहेको छ भने विवेक थापा सहनिर्माताका रूपमा रहेका छन्।
चलचित्रलाई श्रीराम बालाजी फिल्म्स र रिच इन्टरटेनमेन्टले वितरण गरेका हुन्।
अनमोल केसीको स्टारडमले बक्स अफिसमा देखायो प्रभाव अभिनेता अनमोल केसीको स्टारडमका कारण चलचित्रप्रति दर्शकको आकर्षण सुरुवातदेखि नै देखिएको छ। अग्रिम टिकट बुकिङदेखि प्रदर्शनको पहिलो दिनसम्म प्राप्त प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत गरेको छ।
अब चलचित्रले पहिलो दिनको अन्तिम व्यापार कति गर्छ र आगामी दिनमा यसको कमाईले कस्तो गति लिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
तपाईंले चलचित्र ‘बाटुलो जुन’ हेर्नुभयो? चलचित्र कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्।



